रेल किन्न सरकारले दियो थप ८४ करोड ६५ लाख

काठमाण्डु टुडे २०७५ चैत ७ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, ७ चैत – सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।

भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

रेल किन्नका लागि सरकारले यसअघि विभागलाई ५० करोड रुपैयाँ दिइसकेको थियो । उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको थयो ।

रेल विभागका प्रवक्ता अमन चित्रकारकाअनुसार अहिले खरिद गर्न लागिएको रेलको एक सेटमा पाँच वटा कार (डिब्बा) हुनेछ । अत्याधुनिक प्रविधिको डेमु रेल तीन सय किलोमिटरसम्मको यात्राको लागि अत्यन्तै उपयोगी मानिन्छ ।

एक सेटले एक हजार दुई सयदेखि एक हजार तीन सय जना यात्रु धान्ने क्षमता राख्ने प्रवक्ता चित्रकारले बताए । खरिद गर्न लागिएको दुई सेट डेमु ट्रेन जनकपुर–जयनगर क्षेत्रमा सञ्चालन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us