एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमारले बनाए इतिहास

काठमाण्डु टुडे २०७५ चैत ३ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, ३ चैत्र – तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् ।

आइतबार हङकङमा भएको ३ हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् । उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डको टाइमिङ निकालेकोमा सुधार गरे ।

यादव एसियन युथ एथ्लेटिक्समा भारतीय खेलाडीले बनाएको कीर्तिमान भन्दा ४ सेकेण्डले पछि रहे । २०१५ को एसियन युथ एथ्लेटिक्समा भारतका किसन नास्रीले बनाएको ८ मिनेट २६.२४ सेकेण्ड नै रेकर्ड रहेको छ ।

नेपाल एपीएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कांस्य पदक जिते ।

एसियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, उज्वेकिस्तान, इन्डोनेसिया, ओमन, भुटान, जोर्डन, किर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडीहरु सहभागी छन् ।

नेपाल एथ्लेटिक्स संघमा चर्किएको विवादका बीच प्रशिक्षक धनिराम चौधरीसहित अजितकुमार यादव मात्रै नेपालबाट हङकङ गएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us