काठमाण्डुका वाणिज्य बैंकबाट अब सिक्का पाइने

काठमाण्डु टुडे २०७५ फागुन ३० गते १७:५९ मा प्रकाशित

काठमाण्डु, ३० फागुन – नेपाल राष्ट्र बैंकले काठमाण्डु उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो ।

धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाण्डु उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

आम नागरिकको मागबमोजिम सहजरुपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाण्डु उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बैंकका अनुसार कूल २८ वटा वाणिज्य बैंकले आगामी चैत ३ गतेदेखि आगामी वैशाख १६ गतेसम्म वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । बैंकिङ कारोवार गर्ने समयभित्र सर्वसाधारणलाई सिक्का बिक्रीको व्यवस्था गर्ने निर्णय गरिएको र काठमाडौँ उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत सिक्का बिक्रीको व्यवस्था मिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us