पाकिस्तानी क्रिकेट बोर्डले गर्यो भारतविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७५ फागुन २८ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, २८ फागुन – पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले भारतीय टिमविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीमा उजुरी दर्ता गरेको छ । गएको शुक्रबार भएको अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेट खेल्ने क्रममा भारतीय खेलाडीले सैनिकको टोपी लगाएकोमा आपत्ति जनाउँदै पीसीबीले भारतीय टिमलाई कारबाही माग गर्दै आईसीसीमा लिखित उजुरी गरेको हो ।

पीसीबीका अध्यक्ष एस्सान मणीले भारतीय खेलाडीलाई सेनाको टोपी लगाउन लगाएर भारतले क्रिकेटमा राजनीति प्रवेश गराएको दाबीसहित कारबाहीका लागि निवेदन दिएको बताएका छन् । उनले आईसीसीलाई अर्को पनि पत्र पठाउने तयारी रहेको जानकारी पनि दिएका छन् ।

भारतले फ्रेब्रुअरी १४ तारिखमा काश्मिरमा आतंकबादी हमलामा मारिएका सुरक्षाकर्मीको सम्मानमा खेलाडीले यस्तो टोपी लगाएको बताएको छ । तर, आईसीसीका प्रवक्ताले भारतीय क्रिकेट बोर्ड बीसीसीआईले खेल अघि यसबारे आईसीसीलाई जानकारी गराएको र आईसीसीले यसको अनुमति दिएको बताएको बीबीसीले जनाएको छ । च्यारिटीमार्फत रकम संकलनका लागि यस्तो अनुमति दिइएको आईसीसीको भनाई छ ।

तर, पीसीबीले यसअघि इग्ल्याण्डका खेलाडी मोइन अलीले सन् २०१४ मा भारतसँगको खेलमा सेभ गाजा र फ्री प्यालेष्टाइन लेखेको आर्मब्याण्ड लगाउन नदिइएको तथा सन् २०१७ मा दक्षिण अफ्रिकाका इमरान ताहिरले धार्मिक प्रवचक जुनैद जम्सेदको टीसर्ट देखाएबापत आईसीसीले अनुशासनको कारबाही गरेको उदाहरण दिँदै भारतलाई बेग्लै खालको ब्यवहार नगर्न ध्यानाकर्षण गराएको अध्यक्ष मणीले बताएका छन् ।

भारतीय सेनाका मानार्थ कर्णेल समेत रहेका भारतीय टिमका पुर्व कप्तान महेन्द्रसिंह धोनीले मैदानमा खेलाडीलाई सेनाको टोपी वितरण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us