धनगढी, ११ फागुन – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ ।
शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरेको हो ।
च्याम्पियन बनेको अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको महेन्द्रनगरले १२ लाख पायो । टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ जोडेको थियो ।
महेन्द्रनगरले दिएको लक्ष्य अत्तरियाले खेल सकिन एक बल बाँकी छँदा सात विकेट गुमाएर भेट्टायो । अत्तरियाको जीतमा सन्नी पटेल नायक बने । उनले २६ बलमा नटआउट ४७ रन जोडे । त्यस्तै जयकिशन कोल्सावालाले ३० रनको योगदान दिँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।
बलिङतर्फ महेन्द्रनगरका लागि मोहमद नाभिद र सागर ढकालले समान दुई–दुई तथा अविनाश बोहरा र शाहब आलमले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाउने क्रमममा दिलिप नाथले सर्वा्धिक ४३ रन जोडे ।