काठमाण्डु, २४ माघ – पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबै बैंकलाई उछिनेको छ । यसअघिसम्म नविल बैंक अग्रस्थानमा रहँदै आएकोमा अहिले राष्ट्रिय वाणिज्यले जितेको छ ।
नविलले चालु आवको पहिलो ६ महिनामा २ अर्ब १७ करोड खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्यले २ अर्ब ४० करोड कमाएको छ । गत वर्षको यस अवधिमा वाणिज्यले १ अर्ब ७८ करोड खुद नाफा कमाउँदा नविलले १ अर्ब ८३ करोड कमाएको थियो। रेगुलेटरी एड्जस्ट्मेन्ट गर्दा २३ करोड छुट्याउनुपर्ने राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा भने २ अर्ब १७ करोड छ ।
राष्ट्रिय वाणिज्य बैंकको व्यवसायमा उल्लेख्य वृद्धि हुँदा नाफामा टेवा पुगेको देखिन्छ । बैंकले व्याजवापत मात्रै ४ अर्ब ९५ करोड आम्दानी गरेको छ । पुस मसान्तसम्म कुल १ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको छ ।
एक वर्षको अवधिमा बैंकको निक्षेप ३२ अर्बले र कर्जा २४ अर्बले बढेको छ। सरकारले स्थानीय तहको खातामा रहेको रकम बैंकहरुलाई ५० प्रतिशत निक्षेपका रुपमा दिँदा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै १७ अर्ब प्राप्त गर्यो । जसले गर्दा बैंकको निक्षेपमा उल्लेख्य वृद्धि भएको हो ।
निक्षेपमा मात्रै नभई कर्जा प्रवाहलाई पनि बैंकले जोड दिएको देखिन्छ । निक्षेपकै अनुपातमा कर्जा बढेपछि बैंकको सिसिडी रेसियो गत वर्षकै दर ६९ प्रतिशतमा छ ।
८० प्रतिशतसम्मको सीमा रहेको सिसिडी रेसियो जम्मा ६९ हुनुले थप ऋण लगानीका लागि बैंक अरुभन्दा सहज अवस्थामा देखिन्छ । तसर्थ आगामी दिनमा नाफा बढाउनका लागि बैंकलाई सहज स्थिति छ । त्यसकारण पनि अन्य निजी बैंकलाई राष्ट्रिय वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न चुनौति थपिएको छ ।
९ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोष मजबुत छ । १२ अर्ब ४४ करोडको जगेडा कोष भएकाले भैपरी आउन सक्ने संभावित चुनौतिको सामानाका लागि बैंक बलियो देखिन्छ ।
बैंकले निश्क्रिय कर्जा अर्थात नउठेको ऋण रकम घटाएको छ । अघिल्लो त्रैमासिक अवधिसम्म यस्तो कर्जा ३.८३ प्रतिशत रहेकोमा अहिले ३.४ प्रतिशतमा झरेको छ । निश्क्रिय कर्जा निजी क्षेत्रका अन्य बैंकहरुको भन्दा बढी भएकाले यो घटाउँदै जानुपर्ने चुनौति बैंकलाई देखिन्छ । बैंकको आधार प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५३ पैसा छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरुको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी छ । राष्ट्रिय वाणिज्यमा भने शत प्रतिशत सरकारी स्वामित्व छ ।
बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन (बाफिया)मा एउटा बैंकको सेयर सरकारले शत प्रतिशत लिन सक्ने व्यवस्था गरिएपछि यो बैंकको सेयर सर्वसाधारणमा जारी गर्न नपर्ने भएको छ ।
यो व्यवस्थाप्रति कतिपय लगानीकर्ताले भने असन्तुष्टि जनाउँदै आएका छन् । उच्च नाफा हुन्जेल सरकारले लिने, नाफा घट्न सक्ने अवस्था आएमा सर्वसाधारणलाई स्वामित्व दिएर पन्छिन सक्नेगरी व्यवस्था गरिएको कतिपयको आरोप छ ।
ऋणका लागि सबैभन्दा सस्तो बैंक
बैंकहरुले दिने ऋणको व्याज आधार व्याजदरमा भर पर्छ । आधार व्याजदरमा निश्चित प्रिमियम दर जोडेर ऋणको व्याज निर्धारण गर्ने गर्दछन् । तसर्थ ऋण लिनेहरुका लागि यो बैंकको व्याजदर सबैभन्दा सस्तो छ ।
बैंकको आधार व्याजदर जम्मा ५.६ प्रतिशतमा झरेको छ । अघिल्लो त्रैमासिक अवधिमा यो ६.३३ प्रतिशत थियो ।
अन्य कतिपय निजी बैंकहरुको आधार व्याजदर बढेका बेला राष्ट्रिय वाणिज्यको भने घटेको छ । यसकारण आगामी दिनमा पनि ऋणीको लागि प्रमुख रोजाईमा यो बैंक पर्ने देखिन्छ ।
सरकारले विभिन्न शिर्षकमा दिने सहुलियतपूर्ण कर्जा लिनेहरुलाई यो बैंकको व्याज झनै सस्तो पर्ने भएको छ । कृषि उद्यम गर्न चाहने, वैदेशिक रोजगारबाट फर्केका युवाले गर्ने व्यवसाय, दलित समुदायले गर्ने व्यवसाय, शिक्षित भइकन बेरोजगार भएका युवाले गर्ने व्यवसायमा बैंकको व्याज जम्मा २.६ प्रतिशत मात्रै पर्ने भएको छ ।
त्यस्तै महिलाहरुले गर्ने व्यवसायमा भने जम्मा १.६ प्रतिशत व्याज पर्नेछ । यस्तो ऋणमा आधार व्याजदरमा २ प्रतिशत जोडेर आउने दरमा सरकारले महिला उद्यमशिलतामा ६ र अरुमा ५ प्रतिशत व्याज अनुदान दिन्छ ।