
एजेन्सी – न्यूजील्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमसँग सर्वसाधारणलाई सावधान रहन चेतावनी दिएको छ । इस्टर्न डिस्ट्रिक्ट पुलिसले फेसबुकमा एउटा सूचना जारी गर्दै आफ्नो देशको नागरिकलाई भारतीय क्रिकेट टिमसँग सावधान रहन चेतावनी दिएको हो ।
भ्रमण टोली पाँच एकदिवसीय खेलको श्रृंखलामा न्यूजील्यान्ड भन्दा २–० ले अगाडि रहेको छ । भारतले नेपियरमा खेलिएको पहिलो एकदिवसीय खेलमा न्यूजील्यान्डलाई डकवर्थ लुइस मेथोडका आधारमा आठ विकेटले हराएको थियो । माउन्ट मन्गनुईमा भएको दोस्रो एकदिवसीय खेलमा भारतले घरेलु टिमलाई ९० रनको नमिठो हार चखाएको थियो ।
दोस्रो एकदिवसीय खेलमा भारतीय टिमले घरेलु टोलीलाई २३४ रनमै अलआउट गरिदिएको थियो । यी दुवै हारपछि न्यूजील्यान्डको हक्स बे र टेरोहिटी क्षेत्रको इस्टर्न डिस्ट्रिक्ट पुलिसले आफ्नो देशको टिममाथि पनि प्रहार गर्दै भारतीय टिममाथि पनि धावा बोलेको छ। खासमा पुलिसले बलियो मानिएको आफ्नो टिमले दुई म्याच गुमाएपछि फेसबुकमार्फत् कटाक्ष गरेको हो ।
इस्टर्न डिस्ट्रिक्ट पुलिसले आफ्नो फेसबुक पोस्टमा लेखेको छ, ‘हाम्रो देशको भ्रमणमा रहेको एक समूहको सफलतालाई लिएर पुलिसको तर्फबाट चेतावनी जारी गरिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले अघिल्लो साता नेपियर र माउन्ट मन्गनुईमा यही समूहले विचरा देखिने न्यूजील्यान्डको एक समूहमाथि नमिठो हमला बोलेका छन् । यदि तपाईँले क्रिकेटको ब्याट या बल जस्तो देखिने कुनै सामानसहित कुनै समूह देख्नु भयो भने सावधाधन रहनुहोला ।’