
काठमाण्डु, १० माघ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नेविसंघले घेराउ गरेका छन् ।
पार्टीले नेविसंघलाई अनिर्णयको वन्दी बनाएको र म्याद सकिए पनि कामचलाउ हैसियतमा नैनसिंह महर नेतृत्वको नेविसंघलाई निरन्तरता दिएको विरोधमा नेविसंघले नाराबाजी गर्दै देउवालाई घेराउ गरेका हुन् ।
देउवा निर्धारित समयभन्दा २ घण्टा ढिलामात्रै पार्टी कार्यालय पुगेका थिए । असन्तसष्ट पक्षका कार्यकताको घेराउबाट देउवालाई बैठकस्थलमा छिर्न हम्मेहम्मे परेको थियो ।
नेविसंघका नेता दीपक भट्टराईले १२ औं महाधिवेशन गर्न नसक्ने महर नेतृत्वको नेविसंघको म्याद थप नगर्न माग गर्दै पार्टी कार्यालयमा घेराउ गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुपूर्व नेविसंघका असन्तुष्ट समूहले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । बिहीबार दिउँसो २ घण्टासम्म नेविसंघले कांग्रेस कार्यालय घेराउ गरेको हो ।
देउवा पार्टी कार्यालय परिसरमा प्रवेश गर्दा नेविसंघले असक्षम नेतृत्व खारेज गर भन्दै नारावाजी गरे पनि देउवाले कुनै प्रतिक्रिया भने दिएनन् ।