वर्षाका कारण खेल रद्द

काठमाण्डु टुडे २०७५ माघ ९ गते १४:५३ मा प्रकाशित

काठमाण्डु, ९ माघ – उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ ।

क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उनको भनाइ छ ।

प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले रु दुई लाख, तेस्रो हुनेले रु एक लाख, चौथो हुने टोलीले रु ६० हजार, पाँचौ हुनेले रु ४० हजार, छैठौँ हुनेले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us