संसदमा कांग्रेसले ‘पावर’ देखाएपछि…

काठमाण्डु टुडे २०७५ पुष २२ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २२ पुस – कांग्रेस नेता गगन थापाले सभामुख कृष्णबहादुर महरा पार्टी सदस्य हुन् कि सभामुख हुन् भन्ने प्रश्न उठेको बताएका छन् । आइतबारको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै प्रमुख विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए । बैठकबाट बाहिरिँदै नेता थापाले भने ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्न मन थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो, संसदमा किन आउनुपथ्र्यो ?’

ढाकछोप गरेर सभामुख पदको दुरुपयोग नहोस् भन्ने चेतावनी दिँदै नेता थापाले सभामुखकै सहमतिमा पाँच जनाको नाम दिँदा पनि हुकुमी शैलीमा समय नदिएको बताए । उनले भने, ‘सभामुखसँग प्रमले मिलेमतो गरेर हाम्रो प्रश्नको सामना गर्न तयार भएनन् ।’

महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको बताएको छ ।

सांसद थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी भएको बताए।

‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्य ?,’ थापाले भने, ‘सभामुखका अनुसार संसदको नियमावलीको व्याख्या गर्ने हो भने त उहाँको अनुमतिबिना भित्र बस्न पनि पाइन्न ।’

‘सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको छ । प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो,’ थापाले भने, ‘ प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं । तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो । हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो ।’

संसदमा प्रतिपक्षको भूमिका सशक्त नदेखिएको भन्दै सभापतिको चर्को आलोचना हुँदै आएकोमा आजको बैठकमा कांग्रेस सांसदहरु आक्रोशित रुपमा प्रस्तुत भएका थिए । कांग्रेसले संसदमा प्रतिपक्षको सशक्त भूमिका देखाउन खोजेका सत्तापक्षका सांसदहरुले आरोप लगाएका छन् ।

संसदको नियमावलीको २१९ मा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने प्रावधान छ । सोही प्रावधान अनुसार सभामुखको अनुमति लिएर प्रतिप्रश्न गर्न पाउने व्यवस्था बमोजिम आफूहरुले समय मागेको थापाले बताए ।

प्रतिनिधिसभाको बैठक आगामी पुस २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित् भएको छ । विपक्षी कांग्रेससँग कुरा नमिलेपछि बैठक २५ गतेसम्मको लागि स्थगित् भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us