काठमाण्डु, १७ फागुन –संविधानसभा नियमावली मस्यौदा समितिको बैठक बसिरहेको छ । शुक्रबार अन्तिमरुप दिने भन्दै दिनभरी भएको छलफलमा सहमति नजुटेपछि फेरि छलफल भइरहेको हो ।
पाँच वटा समितिमा सहमत भएका सभासद्हरु त्यसको कार्याक्षेत्रका विषयमा असहमत भएपछि अन्तिम निर्णय हुन नसकेको हो ।
सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णको नेतृत्वमा रहेको समितिको म्याद भोलीसम्म रहेको छ ।
मस्यौदा समितिमा रहेका साना दलका सदस्यहरुले ठूला दल काँग्रेस, एमाले र एकीकृत माओवादीको प्रभावमा परेर संसद सचिवालयले काम गरेको आरोप लगाएका छन् ।
अहिले बनाउन लागिएको संवैधानिक राजनीतिक तथा सहमति समितिमा साना दलहरुको तिव्र असन्तुष्टी रहेको छ । समितिको संयोजक जो भएपनि केही फरक नपर्ने बताएका सानादलका सभासदहरुले यसको कार्यक्षेत्रका विषय र अन्य नियमहरुका विषयमा चर्को असन्तुष्टी जनाएका छन् ।
विगतको संमितिमा दुई भन्दा बढि समितिमा बस्न पाउने व्यवस्था यसपटक कटौति गर्न लागिएको छ । जस्ले गर्दा प्रभावशाली समितिहरुमा सवै दलको पहूँच नपुग्ने र ठूला दलले मनोमानी गर्ने उनीहरुको भनाई छ ।