प्रचण्डसँग कतार जानेले बदनाम गराउन खोजे

काठमाण्डु टुडे २०७० फागुन १५ गते १६:०२ मा प्रकाशित

काठमाण्डु -एकीकृत माओवादीको अन्तराष्टिय बिभागले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमणलाई बदनियतपूर्ण बनाइएको आरोप लगाएको छ । अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा चार जना मात्रै रहेको पनि बिभागले प्रष्ट पारेको छ ।

प्रचण्डको टोलीमा बिभागका पूर्व प्रमुख तथा बर्तमान प्रवक्ता दिनानाथ शर्मा,पूर्व श्रममन्त्री लेखराज भटट र प्रचण्डका स्वकीय सचिव चुडामणि खडका मात्रै रहेको सो बिभागले प्रष्टयाएको छ । बिभागले भनेको छ अध्यक्षसँगै गएका अरुको भ्रमणको उद्देश्य र सहभागीता उहाँहरुको नीजि बिषय हो । उनीहरुसँग अध्यक्षको त्यस भ्रमणलाई जोडेर चर्चा गर्नु या त अज्ञानता हो या चाहि बदनियत हो । हामी प्रति सहानुभूतिशील सबैलाई उक्त तथ्य बुझेर प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछौ ।
सो बिभागले बुधवार पार्टी मुख्यालयमा कुटनीतिज्ञहरुका लागि आयोजना गरेको चियापान कार्यक्रमका बारेमा उठेका टिप्पणीका बारेमा पनि आफनो धारणा सार्वजनिक गरेको छ । हेर्नुस बिभागले सार्वजनिक गरेका धारणा जस्ताको तस्तै

एकीकृत माओवादी अन्तराष्ट्रिय बिभागmaoist-flag

दुई कुरा प्रष्ट पार्न चाहन्छौं :
१) अध्यक्ष कमरेड प्रचण्डबाट हालै सम्पन्न कतार भ्रमणको क्रममा वहांको भ्रमण टोलीमा औपचारिक रुपमा जम्मा तीन जना मात्र सहभागी हुनुहुन्थ्यो । अध्यक्ष कमरेड प्रचण्ड, यस बिभागका निवर्तमान प्रमुख तथा हाल प्रबक्ता क. दीनानाथ शर्मा र केन्द्रीय सदस्य एवं अध्यक्षका स्वकीय सचिव क. चुडामणि खड्का । कतारमा भएका सबै औपचारिक भेटहरुमा वहांहरु तीन जना र पार्टीको श्रम बिभाग प्रमुख तथा के.स. क. लेखराज भट्ट मात्र सहभागी हुनु भयो । अध्यक्ष संगै गएका अरुको भ्रमणको उद्देश्य र सहभागीता वहांहरुको नीजि बिषय हो । उनीहरु संग अध्यक्षको त्यस भ्रमणलाई जोडेर चर्चा गर्नु या त अज्ञानता हो या चांही बदनियत हो । हामी प्रति सहानुभूतिशील सबैलाई उक्त तथ्य बुझेर प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछौं ।
२) फागुन १४ ( जनवरी २४)को पार्टी केन्द्रीय कार्यालयमा भएको टि रिसेप्सन पार्टीको लागि एक महत्वपूर्ण उपलव्धी हो । बिहान औपचारिक रुपले जुन हलमा बलिदान दिबस मनाएर शहीद सप्ताहको शुरुवात गरियो, दिउंसो त्यही हलमा बिदेशी राजदूतहरुलाई बोलाएर चिया खुवाइएको हो । महत्वपूर्ण कुरा यो हो कि पार्टीले बिदेशी राजदूतलाई आफ्नै कार्यालयमा बोलाएर समसामयिक राजनीतिक बिषयमा सबै नेताहरुले सामूहिक रुपमा डिल गर्नु भयो , कतै एक्लै वा अदृश्य भेट गर्न जानु भएन । यसलाई त सहि परंपराको शुरुवात पो भन्नु पर्ने हो । तर, आफूलाई चर्को माओवादी भन्न रुचाउने मित्रहरु बाटै गलत ढंगले बिषय प्रस्तुत गर्नु उदेक लाग्दो छ । जहां सम्म शहीद सप्ताहको दिनको कुरा हो, दिन त्यति ठूलो कुरा होइन । त्यसो त जनयुद्धमा हरेक दिन दर्जनौं व्यक्तिहरुको शहादत भएको थियो । हरेक दिन शोक मनाएर बस्नु पर्छ भन्न खोजेको हो भने त त्यो संभव छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us