
काठमाण्डु, १३ फागुन – जारी सिजनको ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ ।
राजधानीमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले एक खेल अगावै उपाधि उचालेको हो ।
उपाधिसँगै उसले नेपाली खेलकुदकै सर्वाधिक ७५ लाख नगद पुरस्कार हात पारेको छ । गत सिजन मनाङले उपविजेतामा चित्त बुझाएको थियो ।
मनाङलाई सातौं पटक लिग उपाधि दिलाउने क्रममा ५३औं मिनेटमा योना इलियास र ६७ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । यस सिजन निकै राम्रो फर्ममा देखिएको मनाङको १२ महिनाको अवधिभित्र यो चौंथो उपाधि हो ।
उसले एनसेल कप, ब्रिटिस गोर्खा कप र भुटानमा भएको किंग्स कपको उपाधि जितेको थियो । ए डिभिजन लिगममा भने पछिल्लो पटक २०६२ सालमा मनाङ च्याम्पियन बनेको थियो ।
यससँगै लिगमा अब उपविजेताका लागि प्रतिस्पर्धा हुनेछ । साविकको विजेता थ्रीस्टार र मच्छिन्द्र मध्ये एक टिम उपविजेता बन्ने लगभग निश्चित छ ।