एमाओवादी नेताहरु घटुवामा

काठमाण्डु टुडे २०७० फागुन १३ गते ८:२९ मा प्रकाशित

maoist-flagइलाम, १३ फागुन – एकीकृत नेकपा माओवादीले जिल्ला कमिटी तथा राज्य समितिमा रहेका सबै सदस्यको घटुवा गरेको छ ।

माओवादीको इलाम सदरमुकाममा दुई दिनसम्म सञ्चालन भएको बैठकले उपल्लो तहमा बसेका सदस्यलाई घटुवा गरेर गाउँ तथा क्षेत्रीय तहमा पुर्याएको हो ।

एमाओवादीले जिल्ला समिति विघटन गरी धीरेन्द्र शर्माको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

पूर्व राज्य समिति तथा जिल्ला समितिमा रहेका सबै सदस्यलाई घटुवा गरेर अहिले आयोजक समितिमा मात्र राखिएको संयोजक शर्माले जानकारी दिए ।

तीन वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा डिल्ली चेम्जोङ, क्षेत्र नं २ मा राम राई र क्षेत्र नं ३ मा उर्मिला तामाङलाई क्षेत्रीय संयोजकको रूपमा तोकेको छ ।
यस्तैगरी कार्यालय सचिवमा पूर्वराज्य समिति सदस्य युवराज पौडेल र जिल्ला विकास समितिमा सहभागी हुन टीका घिमिरेलाई तोकेको छ ।

दुई दिनसम्म सञ्चालन भएको बैठकले फागुनसम्ममा सदस्यता नवीकरण, चैतदेखि बैशाख १५ गतेसम्ममा जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरेको संयोजक शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us