काठमाण्डु, १२ फागुन – व्यवस्थापिका संसद मातहत रहनेगरी सुरक्षा विशेष समिति गठन भएको छ । सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले कार्यसञ्चालन नियमावली ०६५ को नियम ११७ अनुसार ८१ सदस्यीय समिति गठन गरेको हो ।
यस समितिले प्राकृतिक विपत बाहेकको अवस्थामा सेना परिचालन गर्नुप परेमा त्यसलाई अनुमोदन गर्ने छ ।
समितिमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्ण वहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, नेता कुलवहादुर गुरुङ, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कमला पन्तलगायतका रहेका छन् ।
यसैगरी एमालेवाट अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता भरतमोहन अधिकारी लगायत रहेका छन् भने एमाओवादीबाट नेता बाबुराम भट्टराई, कष्णबहादुर महारा, ओनसरी घर्ति, गणेशमान पुन लगायत रहेका छन् ।
समितिको सभापति र उपसभापतिमा पदेन सभासमुख र उपसभामुख रहने छन् । यस्तो समिति व्यवस्थापिका संसदको कार्यकालसम्मै कायम रहन्छ ।