दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाण्डु टुडे २०८३ जेठ २६ गते २१:१२ मा प्रकाशित

काठमाडौं-नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गरेलगत्तै उनले उक्त निर्णय सार्वजनिक गर्दै लामो समयदेखि चर्चामा रहेको घटनाको छानबिन प्रक्रिया अघि बढाइने बताएका हुन् ।

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, युवराज निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग विक्रम शाह, कुमार गोरख शमशेर र राजकुमारी जयन्तीको मृत्यु भएको थियो ।

उक्त घटनालाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र चर्चित घटनामध्ये एक मानिन्छ ।

साथै, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गरिने उनले जानकारी दिए ।

गृहमन्त्री गुरुङले आफूविरुद्ध जस्तोसुकै आरोप आए पनि सामना गर्न सक्ने बताउँदै नेपाली चेलीहरूमाथि अन्याय भएको भने सहन नसक्ने धारणा राखे । तथ्य र प्रमाणबिनै आफूमाथि आरोप लगाइएको उनको जिकिर छ ।
उनले अनुसन्धान निकायहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ सुदृढ बनाइने बताए ।

हाल अनुसन्धानको क्रममा रहेका मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउने र आवश्यक परेका फाइलहरू पुनः खोल्ने निर्णयसमेत गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us