
बाँके, १० फागुन – जिल्ला कृषि विकास कार्यालय बा“केले आर्थिक वर्ष २०६७/६८ मा मिसन फिस अभियान सञ्चालन गरेयता व्यावसायिक माछापालन गर्ने कृषकको सङ्ख्या बढेको छ ।
जिल्लामा अहिले ३०५ हेक्टर क्षेत्रफल जमिनमा एक हजार १५ जना कृषकले माछापालन गर्दै आएका छन् । आर्थिक वर्ष २०६८÷६९ मा जिल्लामा २५५ हेक्टर क्षेत्रफलमा ९७८ जना कृषकले प्रत्यक्ष रूपमा माछा पालन गर्दैआएका थिए ।
चार वर्षअघि ५० हेक्टर क्षेत्रफलबाट मिसन फिस अभियान सञ्चालन गरिएयता बर्सेनि माछापालन गर्ने कृषक र पोखरीको सङ्ख्या बढ्दै गएको छ ।
सो कार्यालयका मत्स्य विकास अधिकृत वसिर अहमद खाँका अनुसार आर्थिक वर्ष २०६९÷७० मा ३०५ हेक्टर जमिनमा निर्मित एक हजार २५८ माछा पोखरीबाट माछा उत्पादन भइरहेको छ । अहिले यहाँ १६७.५ मेट्रिक टन माछा उत्पादन हुने गर्छ ।
जिल्लामा वार्षिक ३० लाख माछाका भुरा माग रहेपनि जम्मा २० प्रतिशतमात्र जिल्लामा भुरा उत्पादन भइरहेको मत्स्य विकास केन्द्र महादेवपुरीका प्रमुख दीपक भुसालले बताए ।
बा“केमा मागको ५० प्रतिशत माछा अहिले भारतबाट आयात हुन्छ । जिल्लामा सिल्भर कार्प, बिड हेड कार्प, ग्राम कार्प, कपन कार्प, नैनीलगायत जातका माछा पालिन्छ ।