
पोखरा, १० फागुन – ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ यही फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा हुन लागेको बाह्रौँ आहा, रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको छ ।
सहारा क्लब पोखराको आयोजना तथा रारा चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त १२ टिमको सहभागिता रहने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी, मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी, सामसुङ जाउलाखेल, एन्फा एकेडेमी युथ १६, फस्ट रोयल गोर्खा राइल फुटबल टिम ब्रुनाई, नेपाल पुलिस, संकटा क्लब, एपिएफ, सिम्रिक सरस्वती युथ क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब सहभागी हुनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख २२ हजार खर्च लाग्ने बताइएको छ ।