
बैतडी, २८ माघ – स्थानीय बासिन्दाले मन्दिरको सौर्यवत्ती (सोलार) चोर्नेलाई देउता लागेर बौलाउने वा मर्ने भन्ने उर्दी जारी गरेपछि केही दिनअघि मल्लादेही–३ को केदार मन्दिरबाट चोरी भएको सौर्यवत्ती चोरले मन्दिरमा नै छाडेर गएको छ ।
मल्लादेही–३ डणपुरमा रहेको केदार मन्दिर व्यवस्थापन समिति र गाउँलेले आइतबार गाउँ भेला बोलाएर अहिलेसम्म मन्दिरबाट चोरी गर्नेहरुलाई देउता लागेर उनीहरुको मृत्यु भएको बताएपछि चोरिएको सोलार सोमबार राति नै चोरले मन्दिरमा छाडेर गएको हो ।
स्थानीय बुढापाकाले केदार मन्दिरमा अहिलेसम्म केहीले चोरी गरेका र उनीहरु केही समयपछि बौलाएर मृत्यु भएका उदाहरणहरु दिएपछि चोरिएको सोलार मन्दिरमा नै फेला परेको स्थानीय रवीन्द्र साउदले बताए ।
गाउँबाट ४५ मिनेटको दूरीमा रहेको उक्त मन्दिरबाट चोरी भएका सोलार प्यानल, ब्याट्री, तार र चिमहरु मन्दिरमा नै फेला परेको उनले बताए ।
रोजगारीका लागि छिमेकी राष्ट्र भारतमा गएका युवाले रकम सङ्कलन गरेर ३० हजार बराबरको सोलार मन्दिरमा जडान गरेका थिए । सोलार चोरी भएको केदार मन्दिर मध्यराति ठीक १२ बजे दमाहा बाजाका साथ पूजा गर्ने पुरचौडी क्षेत्रको प्रसिद्ध धरोहर मानिँदै आएको छ ।