
काठमाण्डु, २६ माघ– इडन हाजार्डको ह्याट्रिकको मद्दतले न्यू क्यासललाई ३–० हराउँदै चेल्सी इङलिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले लिभरपुलसँग ५–१ हार र म्यानचेष्टर सिटीले न्युउरिचसँग गोलरहित बराबरी खेलेपछि चेल्सीले शीर्ष स्थानमा कब्जा जमाएको हो । चेल्सीको जितमा नायक हाजार्डले २७औ मिनेटमा इभानोभिकको पासमा पहिलो गोल गरे । इटोको पासमा ३३औ मिनेटमा अर्को प्रयास गोलमा परिणत हुँदा चेल्सीको अग्रता दोब्वर बन्यो ।
हाजार्डको ह्याट्रिक भने पेनाल्टीबाट पूरा भयो । ६३ मिनेटमा इटोलाई विपक्षीले पेनाल्टी एरियामा लडाएपछि पाएको मौकालाई उनले बिनागल्ती सदुपयोग गरे ।
जारी सिजनमा उत्कृष्ट फर्ममा देखिएका हाजार्डले यो सिजनमा नै चेल्सीका लागि १२ गोल गरिसकेका छन् ।
जितसँगै चेल्सीको २५ खेलबाट ५६ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ५५ अंक छ । यता बराबरीमा रोकिएपछि सिटीको समान खेलबाट ५४ अंकमा छ ।
लिभरपुलले आर्सनलविरुद्धको फराकिलो जितसँगै ५० अंक बटुलेको छ । शनिबार राति भएका अन्य खेलमा हल सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो भने स्वान्सीले कार्डिफको चुनौती ३–० ले पन्छायो ।
स्टोकले साउथमटमसँग दुई/दुई गोलका बराबरी खेल्दै अंक बाडेको छ भने क्रिइटल प्यालेसले वेस्ट ब्रुमलाई ३–१ ले आफ्नो सिकार बनायो । अर्को खेलमा एस्टन भिल्ला वेस्ट ह्यामसँग २–० गोल अन्तरले पराजित भयो ।