काठमाण्डु, १६ माघ– नेकपा एमालेले आउँदो २१ गते संसदीय दलको निर्वाचन गर्ने भएको छ ।
विहीबार बसेको स्थायी समिति बैठकले २० गते बस्ने केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न नसके २१ गते चुनाव गर्ने निर्णय गरेको एमाले सचिव शंकर पोखरेलले काठमाण्डु टुडेलाई जानकारी दिए ।
त्यसका लागि सोमनाथ प्यासी संयोजक पार्टीको निर्वाचन आयोगलाई जिम्मेवारी दिइएको पोखरेलले बताए । ‘सहमति भयो भने २० गते बस्ने बैठकले संसदीय दलको नेता चयन गर्नेछ,’ पोखरेलले भने, ‘केन्द्रीय समिति बैठकले टुंग्याउन सकेन भने २१ गते चुनाव गर्ने निर्णय भएको छ ।’
२० गते बस्ने केन्द्रीय समिति बैठकमा आउँदो महाधिवेशनको तयारीका विषयमा पनि छलफल हुने पोखेलको भनाइ थियो ।
यस्तै शक्ति बाँडफाँटका विषयमा संसदको ठुलो दल कांग्रेससँग वार्ता गर्ने जिम्मेवारी उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै एमालेले पार्टीका तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदलाई तालिम पनि दिने भएको छ ।