बारा, ५ माघ – बाराको पुरानो कोतघर जीर्ण बन्दै गएपछि पुनःनिर्माण गरिने भएको छ । २०२६ सालदेखि सञ्चालन हुँदै आएको बाराको डुमरवाना–७ स्वाभिमानबस्ती कतर्वास्थित कोतघर आर्थिक अभावमा पुनः निर्माण हुन सकेको थिएन ।
दुई सय ५० घरधुरीले कोतघरको जमरा दसैँमा प्रयोग गर्दै आएका छन् । बाराको उत्तरी क्षेत्रमा यो एउटा मात्र कोतघर छ । स्थानीयले जमराका लागि घरघरबाट धान, जौ, गहुँ, मकै कोतघरमा पु¥याउने गरेका छन् ।
कोतघरमा धार्मिक विधिअनुसार नवरात्रि पूजा र गाजाबाजासहित फूलपाती भित्र्यउने परम्परा रहेको छ ।
देउसीभैलो आयोजना गरी सङ्कलन गरिएको रकमलाई परिचालन गरी त्यसको व्याजबाट मन्दिरमा बडादसैँ र चैतेदसैँमा दुर्गापूजा सञ्चालन हुँदै आए पनि मन्दिर पुनःनिर्माण गर्न आर्थिक अभाव हुँदै आएको दुर्गा मन्दिर सेवा समितिका सचिव गणेशराज रिजालले बताए ।
काठको पटरीले घेरबार गरेको जस्ताको छानो भएको दुर्गा मन्दिर कोतघरमा राखेको जमराले नपुग्ने भएपछि किसान सामुदायिक संस्थाको भवनलाई कोतघरका रुपमा प्रयोग गरिँदै आएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले जलेश्वर धार्मिक पर्यटकीय क्षेत्रमा पर्ने नवदुर्गा मन्दिर कोतघर शिलान्यास गरेका छन् । शिलान्यासपछि प्रजिअ भट्टराईले समुदायको सक्रियतामा हुने सामाजिक विकासमा सरकारी निकाय सधैँ सहभागी हुन तत्पर रहेको बताए ।
पर्यावरण संरक्षण र धार्मिक आस्थालाई जोगाउदै स्थानीय एकजुट भएर गरिरहेको काममा सरकारी निकाय पनि सहभागी हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा मन्दिर स्थापना, कोष निर्माण तथा सञ्चालन गर्ने र अतिथि गरी ३९ जनालाई सम्मान गरिएको थियो ।
जिल्लाको पुरानो कोत घरसहितको दुर्गा मन्दिर आर्थिक अभावमा जीर्ण बन्दै गएका सबैसँग सहयोग जुटाएर सात लाखको लागतमा कोतघरसहितको मन्दिर निर्माण गरिने निर्माण समितिले जनाएको छ ।