चितवनमा ट्रमा अस्पताल निर्माणको पहल

काठमाण्डु टुडे २०७० माघ ३ गते ७:२१ मा प्रकाशित

चितवन, ३ माघ – देशकै मध्य भागमा रहेको चितवनमा अत्याधुनिक तवरको ट्रमा अस्पताल निर्माणका लागि चिकित्सकले साङ्गठनिक रुपमा पहल थालेका छन् ।

नेपाल चिकित्सक सङ्घ चितवन शाखाले सदरमुकाम भरतपुरमा रहेको सरकारी अस्पताल, भरतपुर अस्पतालमा ट्रमा सेन्टरका लागि पहल सुरु गरेको हो ।

पहिलो चरणमा चिकित्सकबीचमा बृहत् छलफलपछि जिल्लाका सभासद् र दलका प्रमुखसँग छलफल सुरु गरेको सङ्घका जिल्ला अध्यक्ष डा कृष्ण पौडेलले बताए ।
राजधानी प्रवेश र बाहिरिने सडकमा हुने दुर्घटनाका घाइतेलाई बचाउन ट्रमा अस्पताल प्रभावकारी हुने उनको विश्वास छ ।

चिकित्सकका अनुसार दुर्घटना भएपछिको एक घण्टाको समयलाई घाइतेलाई बचाउन (गोल्डेन आवर) अर्थात् सुनौलो समय भनिन्छ । यो समयभित्र घाइतेले उपचार पाएमा थप ८० प्रतिशतलाई बचाउन सकिने वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञसमेत रहेका डा पौडेलले बताए ।

उनका अनुसार छ जनामा दुईजना घाइते उपचारको अभावमा मर्ने गर्दछन् । चितवन जिल्लामा मात्र गत आवमा १३९ वटा सवारी दुर्घटना भएका थिए । जसमा ६७ जनाको मृत्यु भएको थियो भने ३२५ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

क्षेत्रीयस्तरको ट्रमा सेन्टर निर्माणका लागि चितवनको क्षेत्र नं ३ का सभासद् कृष्णभक्त पोखरेलले आफ्नोतर्फबाट पनि पहल सुरु गरेको बताए ।

उपचारको अभावमा अब धेरैको ज्यान जानु हुँदैन त्यसका लागि भरतपुर अस्पतालमा ट्रमा सेन्टर निर्माणका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।
पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वीराजमार्ग र आसपासका क्षेत्रका सडकमा हुने दुर्घटनाका घाइतेलाई बचाउन ट्रमा अस्पताल प्रभावकारी हुने देखिन्छ ।

पहिलो चरणमा ५० करोड खर्च हुने अनुमान गरिएको भए पनि आपतकालीन उद्धारका उपकरण थप्ने क्रममा भने लागत बढ्ने सोही अस्पतालमा सञ्चालन भइरहेको स्पाइनल इन्जुरी सेन्टरका मेकिडल इन्चार्जसमेत रहेका डा. पौडेलले बताए ।

हाल भरतपुर अस्पतालमा चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखालगायतका जिल्लाबाट ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us