मन्त्रिपरिषदको कार्यालयमा अटोमेसन प्रविधि

काठमाण्डु टुडे २०७० माघ २ गते ९:१९ मा प्रकाशित

काठमाण्डु, २ माघ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका काम अबदेखि अटोमेसन प्रविधिबाट हुने भएको छ ।

कार्यलयलाई काजमुक्त अर्थात पेपरलेस बनाउने उद्देश्यले यस्तो गर्न लागिएको हो ।

कार्यालयभित्र स्वचालित कार्यालय प्रणाली (अटोमेसन प्रविधि) जडान भएपछि कलम र कागजले गर्ने कामलाई किबोर्ड र माउसले विस्थापित गरिदिएको छ ।

अबदेखि कार्यालयमा आउने सबै चिठीपत्रलाई मूलढोका नजिक रहेको दर्ता शाखामा रहेका कर्मचारीले कम्प्युटरमा दर्ता गर्छन् । कुन मिति र समयमा पत्र दर्ता भएको हो यसको जानकारी पत्रवाहकलाई दिइन्छ ।

त्यसपछि पत्रलाई स्क्यान गरिन्छ । स्क्यान गरेपछि स्वतः कोड नम्बर आउँछ । स्क्यान गरेको पत्र डेटामा सुरक्षित रहन्छ र स्क्यान गरिएको पत्र मुख्य सचिवको कम्प्युटरमा जाने व्यवस्था मिलाइएको छ । यसका लागि कार्यालयले विहीबारदेखि कार्यालय समय पनि परिवर्तन गर्दै विहान ९ देखि ४ बजेसम्म निर्धारण गरेको छ ।

अहिले एक महिनाका लागि परीक्षणका लागि अटोमेसन प्रविधि लागू गरिएको कार्यालयले जनाएको छ । कार्यालयमा कार्यरत सबै कर्मचारीलाई अझ बढी जिम्मेवार बनाउने, कार्यालयको कामलाई कागजविहीन बनाउने, पत्र अन्यत्र पर्ने समस्या हटाउनेजस्ता फाइदा यो प्रविधिबाट हुने मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।

सरकारले यो प्रविधिलाई सबै २७ वटै मन्त्रालयमा पनि लागू गर्ने आन्तरिक तयारी गरिरहेको छ । सिंहदरबारभित्र अप्टिकल फाइवर जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us