
कपिलवस्तु, १ माघ – स्थानीय खोलानालामा खेर गएको पानीको सदुपयोग गरी कपिलवस्तुका एक दर्जन गाविसको तीन हजार ५०० हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
बहादुरगञ्ज, दुविया, बुड्ढी, भलवाड, पटना, पतरिया, गजेहडा, बाँसखोरलगायतका गाविसमा सिँचाइ सुविधा पु¥याउन विश्व बैंकले ३० करोड अनुदान उपलब्ध गराएपछि दुई वर्षमा सिँचाइ सुविधा विस्तार कार्य पूरा भएको हो ।
खेर गएको पानीलाई नहर बनाई वितरण गर्न थालिएपछि सिँचाइ सुविधाको अभावमा वर्षौंदेखि आकासे पानीको भरमा खेती गर्न बाध्य त्यस क्षेत्रका किसानले भरपर्दो सिँचाइ सुविधा पाउन थालेका हुन् ।
सिँचाइ सुविधाले समयमै खेतीपाती लगाउन पाइने भएपछि पटनाका किसान पशुपति थारुले सरकार र दाताप्रति कृतज्ञता प्रकट गरे । सिँचाइ आयोजनाबाट किसानका बाँजो खेत हराभरा हुन थालेको मात्र छैन, उब्जनीमा समेत दोब्बर वृद्धि हुने अपेक्षा गरिएको सायर बाँध सिँचाइ आयोजनाका अध्यक्ष राम लौटन यादवको भनाइ छ ।
खेतीयोग्य भूमि ८३ हजार हेक्टर क्षेत्रफल रहेको कपिलवस्तु जिल्लामा सिञ्चित जमिनको क्षेत्रफल ३४ हजार ६१२ हेक्टर मात्र रहेको डिभिजन सिँचाइ कार्यालयका इन्जिनियर अमृतकुमार शाहले जानकारी दिए । सिँचाइ आयोजना सुरु भएसँगै स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ५ तौलीहवाका डिभिजन प्रमुख रामकृष्ण घोरासैनीले बताए ।