
काठमाण्डु, २३ पुस – राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा नेपाल पुलिस क्लव र फ्रेण्ड्स क्लव विजयी भएका छन् । पुलिसले मच्छिन्द्रलाई १–० तथा फ्रेण्ड्सले आरसीटीलाई ३–० ले हराएका हुन् ।
दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा फ्रेण्डसलाई जिताउन पिटर सेगुनले ३७ औं, सुसन लामाले ५६ औं र भिक्टरले ८९ औं मिनेटमा गोल गरे ।
यो फ्रेण्ड्सको पहिलो जित हो । यसअघिका दुई खेलमध्ये एउटामा हार र एउटामा बराबरीको नतिजा निकालेको फ्रेण्डसले ४ अंक जोडेको छ । आरसिटीको पनि समान ४ अंक छ ।
यस्तै दोस्रो खेलमा पुलिसका भोला सिलवालले ५४ औं मिनेटमा गोल गर्दै टिमलाई दोस्रो जित दिलाएका हुन् । दुई खेलमा जित र एकमा पराजय ब्योहोरेको पुलिसको ६ अंक भएको छ भने, एक जित, एक बराबरी र एक हारसहित मच्छिन्द्रको ४ अंक भएको छ ।