अष्ट ज कृषि सहकारीमा रुपान्तरित

काठमाण्डु टुडे २०७० पुष २३ गते २:२९ मा प्रकाशित

काठमाण्डु, २३ पुस–अष्ट ज बचत तथा ऋण सहकारी संस्था विशेष साधारणसभाबाट कृषि सहकारीमा रुपान्तरित भएको छ । अष्ट ज को केन्द्रीय कार्यालयमा  हालै सम्पन्न विशेष साधारणसभाले निवर्तमान उपाध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कायर्समितिको उपाध्यक्षमा मित्र राना, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुपराज भूसाल र सदस्यहरुमा प्रकाश गिरी, नेहा शर्मा, उद्धव खड्का तथा कृष्णराम मगराती रहेका छन् ।

सभाले अष्ट ज अभियान नेपालका केन्द्रीय अध्यक्ष लोककृष्ण भट्टराई, अष्ट ज अभियान नेपालका उपाध्यक्ष तथा अष्ट ज सहकारीका पूर्वअध्यक्ष शिव अधिकारी, अष्ट ज अभियान नेपालका केन्द्रीय सचिव डा. विष्णु चापागाई, कृषि विभागका पूर्वमहानिर्देशक तथा अष्ट ज अभियन्ता डा. खेम शर्मा पौडेल र अष्ट ज अभियान नेपालका केन्द्रीय अभियन्ता रामलाल श्रेष्ठ लगायतको सल्लाहकार समिति गठन गरेको छ ।

नेपालको दिगो आर्थिक विकासका लागि कृषि व्यावसायीकरणको राष्ट्रिय जागरणमा कृयाशील हुँदै आएको अष्ट ज अभियान नेपालको लक्ष्य, उद्देश्य र भावलाई आत्मसाथ गर्नेगरि अभियानसँग जोडेर सहकारी सञ्चालन गर्न वाञ्छनीय देखिएकाले बचत तथा ऋण सहकारी संस्थालाई कृषि उत्पादन तथा बजार ब्यवस्थापन केन्द्रीय सहकारी संस्थाको रुपमा रुपान्तरण गरेको सो संस्थाले जनाएको छ ।

२०६९ मङ्सिरमा स्थापित यस सहकारी संस्थामा ८७ जना सेयर सदस्य रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us