
काठमाण्डु, २२ पुस – राजधानीमा जरी ए डिभिजन लिग फुटबल प्रतियोतिगामा अप्रत्याशित नतिजा आउनेक्रम जारी छ ।
शनिबार आरसिटिले नेपाल पुलिस क्लव र आईतबार जावलाखेलले साविकको विजेता थ्रीस्टारलाई हराएको भोलिपल्ट सोमबार मनाङ मस्र्याङ्दी क्लवलाई हिमालयन शेर्पाले २–१ तथा सरस्वति युथ क्लवले आर्मीलाई १–० ले निरास पारेको छ ।
दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा हिमालयन शेर्पाका लागि सेगुन अकिनादेले २ गोल गरेपछि मनाङ स्तब्ध बन्न पुग्यो ।
सेगुनले २१ औं मिनेटमा शेर्पालाई दिलाएको अग्रता ६५ औं मिनेटमा दोब्बर पारे । २–० ले पछि परेको मनाङका लागि ८९ औं मिनेटमा सुलभ मास्केले सान्त्वना गोल फर्काएपनि जित दिलाउन सकेनन् ।
लिगमा तेस्रो चरणको खेल जारी रहँदा शेर्पाको यो पहिलो जित हो भने, मनाङको पहिलो हार । यस्तै दोस्रो खेलमा आर्मीले पनि पहिलो हार ब्योहोरेको छ । सुरुका दुबै खेलमा विजयी भएको आर्मी तेस्रो खेलमा सरस्वतिसँग १–० ले निरास बनेको हो ।
पहिलो हाफमा दुबै टोलीबाट गोल नभएको खेलको ६१औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्दा सरस्वति विजयी भयो ।