
ढाका, २१ पुस– बंगलादेशमा आइतबार भइरहेको मतदानको क्रममा एक मतदान अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ ।
बंगलादेशको उत्तरपश्चिम भागमा पर्ने थाकुर्गाओन जिल्लाको मतदान केन्द्रमा मतदान सञ्चालनको लागि खटिएका ४५ वर्षीय जोबाइदुर रहमानको अज्ञात व्यक्तिको आक्रमणमा मृत्यृ भएको हो ।
थाकुर्गाओन जिल्ला बंगलादेशको राजधानी ढाकाबाट ४ सय किलोमिटर टाढा पर्छ । त्यसैगरी अन्य विभिन्न जिल्लामा अवस्थित मतदान केन्द्रमा भएको आक्रमणमा प्रर्दशनकारी लगायत चारको मृत्यु भएको छ । त्यसैगरी मतदान केन्द्रहरुमा कयौं नागरिकलगायत प्रहरीहरु पनि घाइते भएका जनाइएको छ ।
बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) र उसको गठबन्धनका अन्य १७ पार्टीले निर्वाचन बहिष्कार गरेका छन् ।
बिएनपीका नेता खालिदा जियाले निर्वाचनको कडा रुपमा बहिस्कार गर्न आग्रह गरेलगत्तै हिंसा सुरु भएको हो ।
मुख्य विपक्षी नेत्री जियाले सरकारले आफूलाई घरैमा नजरबन्दमा राखेको तथा विपक्षी दलका कार्यकर्ताहरुलाई विरोध प्रदर्शनलगायतका प्रजातान्त्रिक क्रियाकलाप गर्नबाट पनि सरकारले बञ्चित गरेको आरोप लगाइन । निर्वाचनको क्रममा हिंसा मच्चिने त्रासमा बंगलादेशमा व्यापक मात्रामा सुरक्षा व्यवस्था मिलाइए पनि ठाउँ ठाउँमा हिंसा मच्चिएको छ ।
निर्वाचन आयोगका अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई स्थानीय समयअनुसार विहान ९:४५ बजे ३७ वटा मतदान केन्द्र हिंसा मच्चिने डरले मतदान रोकिएको बताएको छ ।
सन् २०१३ मा पनि बंगलादेशमा जारी राजनीतिक हिंसामा पाँचसय व्यक्तिको मृत्यु भइसकेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।रासस/सिन्ह्वा