
काठमाण्डू, १८ असार– बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ ।
अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको ढाका ट्रिब्युनले जनाएको छ ।
त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको कैद सजाय सुनाइएको छ। हसिनाले ११ महिनाअघि पदत्याग गरी देश छाडेकी छन् ।
जुन २०२५ मा आईसीटीले शेख हसिनामाथि औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो । आरोप अनुसार, २०२४ को जुलाईमा देशभर भएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको आदेश दिनेमध्ये मुख्य व्यक्ति शेख हसिना रहेको अभियोजन पक्षले दाबी गरेको छ।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनामाथि जुलाई र अगस्ट २०२४ मा भएका हिंसात्मक दमनहरूको प्रमुख योजनाकार भएको आरोप लगाइएको छ । अगस्ट ५, २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै ढाकास्थित निवास खाली गरेर भारततर्फ प्रस्थान गरेकी थिइन् ।