
झापा, १३ पुस– ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ हातमा सीप भए पैसा कमाउन विदेश गइरहनुनपर्ने झापा सुरुङ्गाका एक युवाले प्रमाणित गरिदिएका छन् ।
सुरुङ्गा–४ का भुवन अधिकारीले आफ्नै घरमा व्यावसायिक रूपमा मौरीपालन गरेर महिनामा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । ‘मह बेच्न पनि टाढा जानु परेको छैन’, बजारको समस्या नभएको बताउँदै उनी भन्छन्, ‘राम्रो मह खोज्दै किन्नेहरू घरमै आउँछन् ।’
उनले पन्ध्र वर्षसम्म भारतको पञ्जावमा बसेर रोजगारी गर्दा सिकेको सीअनुसार स्वदेश फर्केपछि मौरीपालन सुरु गरेका हुुन् । आफ्नै गाउँघरमा बसेर व्यावसायिक रूपमा मौरीपालन गरेका अधिकारी मह काड्ने र बिक्री गर्ने काममा व्यस्त छन् । आफ्नै देशमा परिवारसँगै बसेर केही गरौँ भन्ने भावनाले उनले एक वर्षअघि स्वदेश फर्केर गाउँमा मौरीपालन सुरु गरेका हुन् ।
आफूमात्र होइन, उनले गाउँमा बेरोजगार युवालाई समेत व्यावसायिक मौरीपालनतिर आकर्षित लाग्न अभिप्रेरित गर्ने गरेका छन् । विदेश गएर दुःख पाउनुभन्दा मौरीपालन गर्नु आर्थिक र अरू कारणले ठीक भएको भन्दै उनी युवालाई सम्झाउने गर्छन् ।
अहिले उनले मौरीपालनमा लागेका अन्य किसानहरूलाई पनि समेट्दै जिल्ला कृषि कार्यालय झापामा एउटा संस्था नै दर्ता गरेका छन् । आफ्नै अध्यक्षतामा गठन भएको सात सदस्यीय उहाँको संस्थाको नाम कन्काई मौरीपालन कृषक समूह हो । समूह बनाएर व्यवसाय गर्दा बढी फाइदा हुने उनको ठम्याइ छ ।
एउटा मौरीको घारबाट सिजनमा पाँच केजीसम्म र बेसिजनमा पनि दुई केजीसम्म मह उत्पादन हुने उनले बताए । जाडो समयमा बजारमा महको माग अझ उच्च हुने उनको अनुभव छ ।
पाँचसय रुपैयाँ प्रति केजीका दरले घरबाटै मह बिक्री हुने गरेको उनले बताए । मौरीपालनमा सामान्य लगानी र परिश्रम गर्दा विदेशको भन्दा बढी आयआर्जन गर्न सकिने अधिकारीको भनाइ छ ।