
काठमाण्डु, पुस– नेपालबाट पछिल्लो समयमा पत्रकारहरु धमाधम विदेश पलायन भइरहेका छन् ।
कोही पढ्ने बहानामा त कोही काम गर्न विदेश गइरहेका छन् । विदेश पलायन भएका केही पत्रकारहरु बाहेक सबैले पेशा छोडीसकेका छन् । कतिपय भने विदेश गएपछि पत्रकार बनेका छन् ।
नेपालमा नाम चलेका निजी मिडिया हाउस तथा सरकारी सञ्चारमाध्यममै काम गरेका पत्रकार पनि यतिखेर विदेशमा छन् । कतिपय पत्रकारहरु विदेशमा अनलाइन तथा पत्रपत्रिका नै चलाएर बसेका छन् ।
नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले यसरी पत्रकारहरु धमाधम विदेश पलायन हुनुमा नेपालमा भन्दा विदेशमा राम्रो अवसर पाएरै हो भन्छन् ।
‘नेपालमा असुरक्षित भएर काम गर्नुभन्दा विदेशमा जस्तो सुकै काम भएपनि सुरक्षित तबरले गर्न पाउने ठानेर नै उनीहरु विदेश गएका हुन,’ गाउँले भन्छन्, ‘यहाँ राम्रो अवसर नपाउनु पनि पत्रकार विदेश पलायनको अर्को कारण हो ।’
पुराना पत्रकार गिरीश पोखरेल यतिबेला अमेरिकामा छन् । परिवारसहित अमेरिका बस्दै आएका पोखरेल अमेरिका नेपाल पत्रकार संघको नेतृत्व पनि गरिरहेका छन् । यस्तै अमेरिकाको भर्जिनियामा बस्दै आएकी शर्मिला उप्रेती नेपाल वान टिभीकी पूर्व न्युज रिडर हुन् ।
यस्तै नेपाल टेलिभिजनका पूर्व पत्रकार सुशील न्यौपाने यतिबेला अमेरिकामा छन् । भर्जिनियामै अर्का पुराना पत्रकार कृष्णप्रसाद शर्मा पनि बस्दै आएका छन् ।
उनले करिब ७ वर्ष दि राइजिङ नेपालमा काम गरेका थिए । हिमाल खबर पत्रिका तथा हिमाल साउथ एसियाका डिजाइनर चन्द्रकुमार कार्की पनि यतिबेला अमेरिकामै छन् ।
अमेरिकाकै न्यू जर्सीमा छन् अर्का पत्रका अनुप थपलिया । उनी नेपाल वान टिभीमा काम गर्दै आएका थिए । नेपाल आर्थिक पत्रकार समाज सेजनका दुई पूर्व अध्यक्ष पनि यतिबेला अमेरिकामा छन् । नागरिक दैनिकका पूर्व पत्रकार नारायण सापकोटा तथा कारोबार दैनिकका कार्यकारी सम्पादक बनेका विजय घिमिरे अमेरिका पलायन भएका हुन् । धरानका पत्रकार पशुपति घिमिरे पनि अमेरिकामै छन् ।
कामना प्रकाशनमा लामो समय काम गरेका पत्रकार विमल नेपाल पनि अमेरिकामै छन् । यस्तै नयाँ नेपाल खबरका विश्व शाह पनि अमेरिकाकै न्यूयोर्कमा छन् । कान्तिपुर एफएमका मनोज आचार्य तथा रेडियो दोभानका मुक्ति दवाडी पनि अमेरिकामै बसिरहेका छन् ।
रेडियो नेपालका सुरेन्द्र चौधरी तथा नेपाल वानका गौतम दाहाल पनि अमेरिका पलायन हुने पत्रकारको सूचिमा पर्छन् । लोकदोहोरी कार्यक्रम सञ्चालक रामप्रसाद खनाल अहिले अमेरिकामा अरु व्यवसायसँग पत्रकारिता पनि गर्दैछन् ।
यस्तै गोरखापत्रका नरेश खपांगी बेलायत पुगेका छन् । यस्तै नेपाल समाचार पत्र किशोर सापकोटा, नयाँपत्रिका दैनिकका यदु देवकोटा, एविसी टेलिभिजनका किशोर पन्थी, सूर्य थापा, टंक खनाल र सुरेश शाही अमेरिकामा छन् ।
उनीहरुले अमेरिकामा ह्वाइट हिमालयन टिभि चलाउँदै आएका थिए । अहिले उनीहरु खसोखास साप्ताहिक र खसोखास डटकम चलाउँदै आएका छन् । एबिसी टेलिभिजनकै सुशील खरेल बेलजियम पुगेका छन् ।
कान्तिपुरका श्यामशुन्दर शशी, राजधानीका दीपक पौडेल र अन्नपूर्ण पोष्टका पत्रकार नेत्र खनाल गैर आवासीय नेपाली संघका सल्लाहकार समेत छन् ।
यस्तै बुद्धबल गुरुङ, विनोद अर्याल, बिलबहादुर गुरुङ, भोजराज श्रेष्ठ, दीपक पुडासैनी र रमेश राई एनआरएन पत्रकार अनुगमन समितिमा छन् । राजधानी दैनिकमै कार्यरत श्याम लुईंल अमेरिकामा छन् भने कान्तिपुर दैनिकका योगेश खतिवडा पनि उतै लागेका छन् ।
नागरिक दैनिकका वरिष्ठ पत्रका रामचन्द्र भट्ट पनि अमेरिकामै छन् । कान्तिपुर दैनिकका अनमोलमणी पौडेल हालै क्यानडा उडेका छन् । यस्तै सगरमाथा एफएमका ऋषि अर्याल अष्ट्रेलियामा छन् भने नेपाल समाचार पत्रका भीमसेन सापकोटा पनि उतै लागेका छन् ।
चितवनका पत्रका सुरेश रेग्मी अष्ट्रेलिया लागेका छन् ।
नागरिकका मनोज अधिकारी अमेरिका गएका छन् भने न्युज २४ का बद्रि तिमल्सिना क्यानडा गएका छन् । नेपालमा समयमा तलब नपाउने तथा जीउ ज्यानकै सुरक्षा नहुने भएपछि धेरै पत्रकार विदेश पलाएन भएका छन् ।
त्यसो त पत्रकार मात्रै नभइ धेरै नेपालीहरु विदेश पलायन भइरहेका छन् । यसलाई रोक्न सरकारी तबरबाटै राष्ट्रिय कार्यक्रम आउनुपर्ने बताउँछन् अध्यक्ष गाउँले । ‘नेपालबाट पत्रकार मात्रै होइन अरु क्षेत्रका धेरै दक्ष मानिस पनि विदेशिएका छन्,’ गाउँले भन्छन्, ‘यसलाई कोही एक्लैले रोक्न सक्दैन । यसलाई रोक्न सरकारी तवरबाटै कार्यक्रम आउनुपर्छ ।’