
काठमाण्डु, १२ पुस–नायिका रेखा थापा पछिल्लो समय अभिनयसँगै राजनीति र समाजसेवामा समेत सक्रिय छिन् । सुर्खेत पुगेर राउटेहरुलाई खाद्यान्न वितरण गरेकी नायिका थापाले काठमाण्डु फर्केपछि शुक्रबार दिउँसो २ बजे एयरपोर्ट होटलमा पत्रकार सम्मेलन गर्दैछिन् ।
सुर्खेतको जंगलमा रहेका राउटेहरुलाई खाद्यान्न वितरण गरेर फर्किएपछि तत्कालै पत्रकार सम्मेलन गर्नुपर्ने कारण के आइप¥यो त उनलाई ? काठमाण्डु टुडेले केही रोचक जानकारी प्राप्त गरेको छ ।
मिडियामा अएका समाचारको खण्डन गर्न
रेखा थापाले सहयोग वितरणका क्रममा राउटेका सहायक मुखिया ऐनबहादुर शाहीलाई चुम्बन गरेपछि राउटेहरु रिसाएको र सहयोग समेत अश्विकार गरेको समाचार सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरे । त्यसको खण्डन गर्न रेखाले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
हुन त राउटेहरुले नै पत्रकार सम्मेलन गरेर आफूहरु नरिसाएको भन्दै थप सहयोग गर्न आग्रह गरिसकेका छन् ।
त्यसैले रेखाले आफूहरुले चुम्बन गरेकाले राउटेहरु नरिसाएको सन्देश दिन पत्रकार सम्मेलन गर्न लागेकी रहिछन् । रेखाका अनुसार पत्रकार सम्मेलनमा राउटे मुखियासहित केही प्रतिनिधि पनि सहभागी हुनेछन् ।
पढाउन ल्याएका बालबालिकाबारे जानकारी गराउन
रेखा थापाले सुर्खेतबाट फर्किंदा राउटेका ४ बालबालिकालाई आफूसँगै ल्याएकी छन् । रेखाले पढाउन भन्दै काठमाडण्डु ल्याएका बालबालिकामा १ बालक र ३ बालिका छन् । उनीहरुको बारेमा रेखाले पत्रकार सम्मेलनमा जानकारी गराउँदै छिन् ।
स्पेसल भिडियो देखाउन
रेखाले आफूबारे मिडियामा आएका समाचारको खण्डन गर्न राउटे बस्तीमा रहँदाका क्षणहरुलाई समेटेर भिडियो तयार पारेकी छिन् । जुन भिडियोमा रेखाले आफूले वितरण गरेको सहयोग, राउटे समुदायले आफूप्रति गरेको सम्मान सहितका सबै क्षणलाई क्यामेरामा कैद गरेकी छन् ।
सो भिडियो हेरेपछि आफू विरुद्ध नकारात्मक प्रचार गर्नेहरुले पनि गल्ति महसुस गर्ने उनको बुझाई छ । ‘त्यो भिडियो हेरेपछि उहाँहरु स्वयमले पनि आफूले लेखेको कुरा सत्य नभएको बुझ्नु हुनेछ, रेखाले भनिन्, ‘त्यहाँ मिडियामा आएकोजस्तो परिस्थिति सिर्जना भएको थिएन ।’
राउटेहरुले आफूलाई छोरीजस्तै ब्यबहार गरेर पूजामा समेत सहभागी गरेको भन्दै रेखाले आफूले निस्वार्थ भावनाले राउटेलाई सहयोग गरेको कुरा केही व्यक्तिहरुले सहज रुपमा लिन नसकेको बताइन् ।
राउटेहरुको फोटो बेचेर डलर कमाउनेहरुका लागि आफ्नो खल्तिको पैसाबाट गरेको सहयोग नपचेको उनको आरोप छ । ‘सायद आफ्नो रोजीरोटी खोसिने पीडाले विरोध गर्नुभएको होला, रेखाले भनिन् ‘त्यहाँ के भएको थियो सबै मैले भिडियोमा समेटेकी छु, भिडियो हेरेपछि तपाईले आफैं बुझ्नु हुनेछ ।’