
काठमाण्डु, १० पुस–संयुक्त राष्ट्रसंघले दलहरुबीच भएको पछिल्लो सहमतिले शान्ति र समृद्धिको वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ । नेपालका राजनीतिक दलहरु सहमति र सहकार्यबाटै नयाँ संविधान निर्माण गर्न र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सक्षम हुने राष्ट्रसंघको विश्वास छ ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरी संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले यस्तो विश्वास व्यक्त गरेका हुन् । मंगलबार साँझ झण्डै १५ मिनेट भएको कुराकानीमा मुनले अब नेपाली जनताको भावना अनुसार देशमा नयाँ संविधान बनेर शान्ति तथा राजनीतिक स्थीरताको बाटोमा नेपाल अघि बढोस् भन्ने कामना गरेको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले काठमाण्डु टुडेलाई जानकारी दिए ।
टेलिफोन वार्तामा रेग्मीले नेपालका प्रमुख राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने समझदारी बनेको जानकारी गराएका थिए । पछिल्लो समझदारीले संविधान निर्माणको वातावरण बन्दै गएको रेग्मीको भनाइ थियो । अब चाँडै संविधानसभा–व्यवस्थापिका संसदको अधिवेशन शुरु भई निर्वाचित सरकार निर्माण हुने र संविधान लेखन प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो ।
मुनबाट थप शान्ति सेनाको अपेक्षा
टेलिफोन वार्तामा महासचिव मुनले राष्ट्र संघको आह्वानमा नेपाली शान्ति सेनाले विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ गरेको योगदानको प्रशंसा गरेका थिए । मुनले हालै दक्षिणी सुडानमा द्वन्द्व बढ्दै गएकाले त्यहाँका विभिन्न स्थानमा शान्ति स्थापनार्थ थप संख्यामा शान्ति सेना परिचालन गर्न आवश्यक भएको जानकारी गराएका थिए । दक्षिणी सुडानमा शान्ति स्थापना कार्यमा नेपाली शान्ति सेना कार्यरत भइरहेकामा अरु नेपाली शान्ति सेना थप गर्न नेपाल सरकारको सहयोग र सहमति रहनेछ भन्नेमा उनले विश्वास व्यक्त गरे । ‘थप शान्ति सेना आवश्यक रहे नेपाल त्यसको लागि पनि तयार रहेको अध्यक्ष रेग्मीले बताउनुभयो,’ प्रेस संयोजक पाण्डेले भने ।
नेपाल भ्रमणको निम्तो
टेलिफोन संवादमा मुनले नेपालको विकास प्रयास र लुम्बिनीको विकासमा विशेष चासो राखेका थिए । सो अवसरमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले बृहत्तर लुम्विनीको विकासमा सहयोगका लागि महासचिव मुन र राष्ट्र संघको सराहना गरेका थिए । साथै उनले आफू राष्ट्र संघको ६८ औं महासभामा सहभागी हुन गत सेप्टेम्बरमा न्युयोर्क गएकाबेला महासचिव मुनलाई नेपाल भ्रमणमा आउन गरेको निमन्त्रणा स्मरण गराउँदै आफ्नो अनुकूल समयमा नेपाल आउन पुनः आग्रह गरेका थिए ।
महासचिव वानले अध्यक्ष रेग्मीको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै नेपाल सरकार र समस्त नेपाली जनताप्रति बधाई एवम् शुभकामना समेत दिएका थिए भने अध्यक्ष रेग्मीले नेपालको शान्ति प्रक्रिया र निर्वाचनमा राष्ट्र संघले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।