
काठमाण्डु, ९ पुस– एकीकृत नेकपा माओवादीका माग सम्वोधन गरेर संविधानसभामा सहभागी गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् ।
माओवादीले राख्दै आएको उच्चस्तरीय राजनीतिक समितिलाई स्थायी प्रकृतिको बनाउने, एक बर्षभित्र नयाँ संविधान जारी गरी आम चुनाव गराउने, बाह्र बुँदे राजनीतिक सहमति लगायत हालसम्मका सबै उपलब्धी संस्थागत गर्न पुनः प्रतिबद्धता जनाउने, बेपत्ता खोजबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने लगायत मागमा काँग्रेस–एमाले सहमत भएका हुन् ।
यसैगरी चुनावमा भएको भनिएको धाँधली छानविन गर्न संविधानसभाबाट राजनीतिक समिति बनाउने सहमति पनि भएको छ । यसअघि एकीकृत माओवादीले छुट्टै आयोग गठनको माग गर्दै आएको थियो ।
शान्तिकोषको सचिवालय बबरमहलमा मंगलबार बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा एमाओवादी राजनीतिक समिति बनाउन र एमाले उच्चस्तरीय समिति स्थायी प्रकृतिको बनाउन मन्जुर भएपछि सहमति सम्भव भएको हो ।
सबै विषयमा मोटामोटी सहमति भैसकेको र औपचारिकता पाउन मात्र बाँकी रहेको एमाओवादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । अपरान्ह बस्ने उच्चस्तरीय राजनीतिक समितिले मुख्य तीन दलबीच भएको सहमतिलाई औपचारिक रुप दिने बोगटीको भनाइ छ ।
यो सहमतिसँगै एकीकृत नेकपा माओवादी पनि संविधानसभामा सहभागी हुने निश्चित भएको छ ।