
काठमाण्डु, ८ पुस – भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले आफूहरुले नेपालमा हिन्दू राज्य हुनुपर्छ नभनेको बताएका छन् ।
रिपोटर्स क्लवले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनले नेपाली जनताको चाहनाको सम्मान गर्ने बताए ।
‘नेपाली जनताले संविधानसभा मार्फत संविधान बनोस् भन्ने चाहेका छन् उनले भने, ‘नेपाली जनताले जे चाहन्छन हामी पनि त्यही चाहन्छौं, जनता अनुकुलको राज्य हुनुपर्छ ।’
जनताले हिन्दू राष्ट्र चाहे अवश्य आउने भन्दै सिंहले भाजपाका नेता नरेन्द्र मोदी, अध्यक्ष राजनाथ सिंह र आफू स्वयमले चाहेर नेपाल हिन्दु राष्ट्र नबन्ने बताएका छन् ।
बहुसंख्यक हिन्दू रहेको राष्ट्रलाई सबैले हिन्दू बाहुल्य राष्ट्र भन्ने स्पष्ट पार्दै उनले हिन्दुत्व संस्कार भएकोले कसैले चाहेर पनि नष्ट पार्न नसक्ने ठोकुवा गरे । नेपालमा राजतन्त्रात्मक वा बेलायती मोडल जस्तो सुकै भए पनि प्रजातन्त्र र विकास हुनु पर्ने भारतीय चासो रहेको उनको भनाई छ ।
नेपालमा स्थिर सरकार बने आफैंले भारतका मन्त्रीहरुसँग नेपाली नेताहरुलाई लगेर पञ्चेश्वर बाध निर्माणको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सियारीले भने, ‘पञ्चेश्वर बने नेपालको आधा आम्दानी त त्यहीबाट आउँछ, यहाँ संविधानसभा छिटो बनेर सबै दलको सहभागिता रहेको स्थिर सरकार छिटो बनोस्, त्यसपछि राम्रो सुन्दर नेपाल निर्माण गर्न सकिन्छ ।’
नेपाली जनताले अब नेपालमा बुलेट होईन ब्यालेट चल्छ भन्ने सन्देश दिएको भन्दै उनले छिटो संविधानसभा गठन गरेर सहमतीय सरकार बनाउन सुझाव दिए ।
‘भारतमा अटल विहारी बाजपेयीले २४ दलको सरकार ६ वर्षसम्म चलाउन सक्छन् भने नेपालमा प्रमुख दलहरु मिलेर सरकार बनाउन किन सक्दैनन ?’ उनको प्रश्न छ । नेपालमा संघीय राज्य हुनु पर्ने भन्दै उनले संघीय राज्य भए नेपालको दु्रत विकास हुने तर्क गरे । यद्यपि कुन मोडलको संघीयता भन्ने कुरा यहीँका दलहरुले निधो गर्नुपर्ने उनको भनाई छ ।
पशुपति नाथ, सगरमाथा र बुद्धको जन्मस्थान भएको नेपालमा विकासको प्रचुर सम्भावना भएको भन्दै सिंहले संविधान र स्थिर सरकार बनाए नेपाललाई सगरमाथा जस्तै संसारकै शिर बनाउन सकिने विश्वास ब्यक्त गरे ।
केही दिनअघि नेपाल आएका कोसियारीले उच्च स्तरीय भेटवार्ता समेत गरेका छन् ।