
काठमाण्डु, ८ पुस । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भएमा स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उप्रेतीले स्थानीय निकायको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको जानकारी दिएका हुन् ।
‘दलहरुले राजनीतिक सहमति कायम गरी स्थानीय निर्वाचन गराउनु प¥यो भनेर आवश्यक ऐन नियम संशोधनसहितको पत्र फागुन १५ सम्ममा आयोगमा पठाइदिनुहोस्, उप्रेतिले भने, ‘आगामी चैत÷वैशाखभित्रमा स्थानीय निर्वाचन गराउन आयोग तयार छ ।’
उप्रेतिले थपे, ‘आयोग स्थानीय निकायको निर्वाचन गराउन तयारी अवस्थामा छ, कुन प्रणालीको निर्वाचन गराउने हो, सहमति गरेर दलहरुबाट आयोगमा आउनुप¥यो, आयोग दलहरुको आग्रह कुरेर बसेको छ, आग्रह आउनेवित्तिकै हामी निर्वाचनमा लाग्छौं ।’
उनले स्थानीय निकायको निर्वाचन एकै चरणमा सम्पन्न गराउन नसकिएपनि वैशाख महिनामा निर्वाचन भएमा असार नलाग्दै निर्वाचित स्थानीय सरकारको गठन हुने दावी समेत गरेका छन् ।
मंसिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतका प्रमुख दलहरुले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्ने कुरा उल्लेख छ । स्थानीय निकाय निर्वाचित प्रतिनिधिविहीन भएको ११ वर्ष बितिसकेको छ ।
जिल्ला विकास समिति महासंघ, नगरपालिका संघ र गाउँ विकास समिति महासंघजस्ता निकायले छिटोभन्दा छिटो निर्वाचनको गराउन माग गरिराखेका छन् ।