
काठमाण्डु, ८ पुस–मधेसवादी दलहरु समानुपातिक सभासद चयनको गृहकार्यमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमा सकिन दुई दिनमात्र बाँकी रहँदा मधेसवादी दलहरु सभासद चयनको अन्तिम गृहकार्यमा जुटेका हुन् ।
उम्मेदवार चयनबारे मधेसी जनअधिकार फोरम नेपालले केन्द्रीय समिति बैठकमा छलफल शुरु गरेको छ । केही दिनदेखि चल्दै आएको फोरमको केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाबारे छलफल हुदै आए पनि त्यसलाई रोकेर सभासद चयनबारे छलफल शुरु गरेको केन्द्रीय सदस्य मोहमद इस्तियाक राईले जानकारी दिए ।
यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यसम्पादन समितिको बैठकमा सभासद चयनबारे छलफल चलाएको छ ।
अन्य मधेसवादी दलहरुले पनि बुधबारभित्र समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाउने गरी पार्टीभित्र छलफल चलाउँदै आएका छन् । आइतबार बसेको काँग्रेस र एमालेको बैठकले सबै दललाई पुस १० गते भित्रै समानुपातिक सभासदको नामावली आयोगमा बुझाउन आग्रह गरेको थियो ।