
काठमाण्डु, ८ पुस– तेस्रो वनडे क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई १ सय १३ रनले हराएको छ । यो जितसँगै पाकिस्तानले पाँच म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ ।
३२७ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ४ बलमा २ सय १३ रनमा समेटिएको थियो । श्रीलंकाको लागि तिलकरत्ने दिलशानले ५९, एन्गेलो म्याथुजले ४४ रन जोडे । अन्य ब्याट्सम्यान भने जम्न सकेनन् ।
पाकिस्तानका उमर गुलले सर्वाधिक ३ विकेट लिएका थिए ।
यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेट गुमाएर ३ सय २६ रनको योगफल तयार पारेको थियो । मोहमद हाफिजले अविजित १ सय ४० रनको योगदान गरेका थिए । अहमद सेहजादले ८१ रन जोडेका थिए ।
दुई रनमा एक विकेट गुमाएको स्थिति सम्हाल्दै हफिज र सेहजानले दोस्रो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेका थिए ।
चौथो म्याच बुधबार दुबईमा हुने छ ।