हिउँमा पुरिएको शव अझै अलपत्र

काठमाण्डु टुडे २०७० पुष ७ गते १४:४६ मा प्रकाशित

humla-snowसोलुखुम्बु, ७ पुस– सोलुखुम्बुमा हिउँमा पुरिएको एक व्यक्तिको शव अझै अलपत्र छ । जुभिङ १ का पेम्बा शेर्पाको शव बुङ ९ स्थित छत्तरे खोलामा अलपत्र परेको हो ।

मेराबाट जुभिङ फर्कने क्रममा बाटोमा अत्याधिक हिउँका कारण मृत्यु भएका शेर्पाको शव ल्याउन नसकिएपछि अलपत्र परेको प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।

बुङ ९ मेरामा ग्याल्जेन शेर्पाको मेरापिक होटलमा काम गर्ने शेर्पाको होटलबाट फर्कने क्रममा शुक्रबार बुङ ९ स्थित छत्तरे खोला भन्ने स्थानमा अस्थायी होटलका लागि बनाइएको टहरामा निधन भएको साथमा रहेका साथीहरूले बताएका छन् ।

होटलबाट फर्कने क्रममा होटल मालिक ग्याल्जेन शेर्पा, मृतक पेम्बा शेर्पा र अर्का एक जना तेञ्जिङ शेर्पा गरी तीन जना रहेको र छत्तरे खोला नजिक आएपछि पेम्बा शेर्पा हिंड्न नसकेर अस्थायी होटलका लागि बनाइएको टहरामा बसेकामा त्यहीँ निधन भएको थियो ।

करिब ४ फिट हिउँ रहेको कारण अन्य दुई नाले शव ल्याउन नसकेपछि शव त्यहीँ टहरामा छाडेर फर्किएको बताइएको छ । साथमा रहेका दुई जना गाउँमा आएपछि शनिबार जुभिङमा भएको छलफलमा मृतकका आफन्तहरूले शव भएको स्थानमा पुगेर शव ल्याउन नसक्ने बताएपछि शव अलपत्र परेको हो ।

घटनास्थलसम्म हिंडेर पुग्न हिउँ र चिसोका कारण असम्भव भएपछि त्यहाँ तत्काल हेलिकोप्टर लैजानसमेत मुस्किल पर्ने भएकाले तत्काल शव ल्याउन समस्या भएको थापाले बताए ।

मेरापिक तथा त्यहाँ जाने बाटोमा राखिएका अस्थायी होटल चिसो बढेसँगै बन्द गरिएका छन् । यस वर्ष केही चाँडो हिउँ परेका कारण अस्थायी होटल गर्नेहरूलाई फर्कन समस्या भएको बताइएको छ ।

अहिले हिउँ जमेका कारण बुङबाट छत्तरे खोला हुँदै खुम्बु क्षेत्रमा जाने बाटोसमेत बन्द भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us