आगलागीबाट २० लाख बराबरको क्षति

काठमाण्डु टुडे २०७० पुष ७ गते ४:१८ मा प्रकाशित

काठमाण्डु, ७ पुस– काठमाण्डुको शङ्खमूलमा आइतबार विहान आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट भाडामा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल र ६५ हजार नगदसमेत गरी करिब २० लाखको क्षति भएको घरधनी लालबहादुर भुजेलले बताए ।

आगलागीको कारण थाहा हुन नसके पनि सडक छेउबाट कसैले आगो लगाएको आशङ्का गरिएको छ । विहान एक बजेदेखि शुरु भएको आगलागी एक घण्टापछि छवटा दमकलको सहायतामा निभाइएको थियो ।

यसैबीच मोरङको विराटनगरस्थित एक पसलमा शनिबार राति आगलगाी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । विराटनगर उपमहानगरपालिका १५ स्थित शत्रुधन राईको जानकी सप्लायर्समा आगलागी भएको हो ।

नगद, फर्निचर र सामग्री सबै जलेर नष्ट हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो लागेर एउटा मोटरसाइकल पनि क्षतिग्रस्त भएको छ । यद्यपी क्षतिको पूर्ण विवरण भने आईसकेको छैन । बिजुली सर्ट भएर आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us