
सिरहा, ६ पुस– सिरहाको माडरमा बिजुली सर्ट भई आगलागी हुँदा तीन परिवारका सात वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामाङका अनुसार माडर गाविस ३ का कुदे मलंग, सफीगुला मलंग र तालो मलंगका सात वटा घर जलेर नष्ट भएको हो ।
बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेका लत्ताकपडा, सुनचाँदीका गहना, नगद रुपैयाँ र अन्य जिन्सी सामान जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी तालो मलंगको घरबाट भएको थियो । दिउँसो १ बजे भएको आगलागी पोने घन्टापछि स्थानीयवासी र प्रहरी चौकी माडरबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । रासस