
सोलुखुम्बु, ४ पुस–अत्यधिक चिसोका कारण सोलुखुम्ब र जिल्ला सदरमुकाम सल्लेरीका स्थानीय बासिन्दा एवम् कर्मचारीहरुको कामकाज प्रभावित भएको छ । तीन दिनदेखि अप्रत्याशित रुपमा बाक्लो कुहिरो लाग्ने, सिमसिम पानी पर्ने र चिसो हावा लाग्ने गरेकाले सदरमुकामलगायत आसपासको जनजीवन प्रभावित बनेको हो ।
पछिल्लो समयमा सोलुखुम्बु जिल्लामा अप्रत्याशित रुपमा मौसम परिवर्तनले गर्दा स्थानीय बासिन्दा चिसोको मारमा परेको स्थानीयहरुको भनाइ छ । ‘चिसोले गर्दा बाहिर निस्कन सकिएको छैन, यो हिउँद कसरी काट्ने हो,’ सल्लेरी–५ नयाँबजारका व्यापारी दोर्जी शेर्पाले भने ।
चिसोले गर्दा घरपालुवा पशुपंक्षीलाई समेत असर परेको किसान बताउँछन् । ‘के गर्ने जाडोले गर्दा बाहिर निस्कन सक्ने अवस्था नै छैन, यदि बाहिर निस्की हालेमा आफैलाई चिसोले कठ्याङ्ग्रिएर मरिने पो हो कि भन्ने डर छ, त्यसैले बस्तुभाउलाई पनि बुधबारदेखि पेटभरि खुवाउन पाइएको छैन,’ सल्लेरी–२ फाप्लुका किसान लाक्पासोनाम शेर्पाले पीडा पोखे ।
चिसोका कारण मङ्गलबारदेखि सदरमुकामलगायत आसपासका स्थानीयहरु दिनभरजसो ढोका थुनेर आगो तापेर बसिरहेका छन् । अत्यधिक चिसोका कारण वृद्धावृद्ध र बालबालिकालाई बढी सताएको छ । झनै जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा भएका कतिपय मानिसहरु चिसोका कारणबाहिर समेत निस्कन नसकेको लुक्लाका स्थानीय सूर्य थुलुङले जानकारी दिए । ‘चिसो को त कुरै नगरौं, अघिल्लो सालभन्दा त धेरै जाडोको महसुस भइरहेको छ,’ स्थानीय थुलुङले थपे ।
जिल्लाको माथिल्लो क्षेत्रका अधिकांश मानिस जाडो छल्नका लागि १५ दिनअघि नै देशका विभिन्न ठाउँमा गइसकेका छन् भने घर हेरचाहका लागि केही स्थानीय मात्र खुम्बुमा रहेका छन् । चिसोका कारण यस क्षेत्रका स्थानीय बासिन्दा हरेक वर्षको हिउँदमा काठमाण्डुलगायत विभिन्न तीर्थस्थलमा दर्शन गर्न जाने गरेका छन् । रासस