
धुन्चे, ३ पुस– गाउँमा सहजरूपले हेलिकोप्टर अवतरण गराउन रसुवाका ग्रामिण भेगका बासिन्दाले प्रत्येक गाउँमा हेलिप्याड निर्माणको माग गरेका छन् ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार रसुवाको अधिकांश भू–भाग भिरालो भएकोले गम्भीर खालका बिरामीलाई काठमाडौं लैजान हेलिकोप्टरमार्फत नै उपयुक्त हुने भएका कारण एक गाउँ एक हेलिप्याड निमार्णको माग गरिएको हो ।
रसुवा जिल्लाको यार्सा गाविसको यार्सा, लाङ्पु सरमथली गाविसको निर्कुडाँडा, भोर्लेको ठूलो भोर्ले, धुसेनी, लोकिल, धैबुङको कालिकास्थान जीवजीवे, लहरेपौवाको भलाएडाँडा, माझगाउँ बोगटीटार, राम्चेको ग्राङ, ठूलोगाउँ, डाँडागाउँको ठूलोटाकु, गतलाङ, तातोपानी, थुमन, गोल्जुङ, स्याफ्रुबेसी, बृद्धिम, ठूलोस्याफ्रु, चन्दनबारी, लौरिविनायकसमेतका स्थानमा हेलिप्याड निर्माण गर्न जरुरी रहेको बताइएको छ ।
यस्तै सदरमुकामको हेलिप्याडलाई व्यवस्थित गरी कालोपत्रे गर्नसमेत माग राखिएको नागरिक समाजले बताएको छ ।
रासस