
३ पुस– एसियाली च्याम्पियन गुआङझाउ एभरग्रयाण्डलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब वल्र्ड कपको फाइनलमा प्रवेश गरेको छ । एभरग्रयाण्डलाई ३–० ले पराजित गर्दै बायर्न फिफा क्लब वल्र्ड कप फाइनलमा प्रवेश गरेको हो ।
मोरोक्कोमा जारी फिफा क्लब वल्र्ड कपअन्तर्गत मंगलबार राति भएको खेलमा एभरग्रयाण्डमाथि सहज जीत निकाल्ने क्रममा वर्ष खेलाडीकालागि चुनिएका बायर्नका फ्रयांक रिबरीले खाता खोलेका थिए । खेलको ४० औं मिनेटमा गोल गर्दै बायर्नले खेलमा अग्रता लिएको थियो ।
खेलको पहिलो हाफमा नै मारियो मान्जुकिचले गोल गर्दै अग्रता दोब्बर बनाए । मारियो गोत्जेले दोस्रो हाफ सुरु भएको दुई मिनेट बित्न नपाउँदै गोल थपेपछि बायर्न ३–० को स्थितिमा पुग्यो । खेलमा थप कुनै गोल हुन सकेन र खेल बायर्नले आफ्नो पक्षमा पार्यो ।
शनिबार हुने फाइनलमा बायर्नले बुधबार हुने दक्षिण अमेरिकी च्याम्पियन एट्लेटिको मिनिरो वा मोरोक्कन च्याम्पियन राजा क्यासाब्लान्काबीचको विजेताको सामना गर्नेछ ।