
काठमाण्डु ३ पुस– एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले दोस्रो संविधानसभाबाट संविधान जारी गर्नु फलामको च्युरा चपाउनु सरह हुने तर्क गरेका छन् ।
एकीकृत माओवादीसहित पहिचान पक्षधरहरुको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले अहिले कसैको पनि त्यस्तो स्थिति नरहेको अवस्थामा यो संसवधानसभा फलामको च्युरा सरह हुने तर्क गरेका हुन् ।
रपोर्टर्स क्लवमा बुधबार भएको साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादी सरकारमा नजाने बताएका छन् । आफूहरुले सरकारमा जाने कुरा नसोचेके बताउँदै उनले प्रतिपक्षमा बस्ने जनाएका हुन् । नेता रायमाझीले भने, ‘हामीले अहिलेसम्म सरकारमा जाने कुरा सोचेका छैनौं । प्रतिपक्षमा बस्छौं । संविधानसभामा सहमतिका साथ अघि बढ्छौं, संसदमा प्रतिपक्ष बस्छौं ।’
उनले आफूहरुले उठाएको सहमतिमा संविधान जारी गर्ने गरी संवैधानिक व्यवस्था र निर्वाचनमा भएको धाँधलीको छानविनको विषयमा दलहरु सहमतिको नजिक रहेको उल्लेख गरे । दलहरुबीचको सहमति पछि आफूहरुले निर्वाचन आयोगलाई समानुपातिकतर्फको नाम बुझाउने उनको भनाइ थियो ।