
सोलुखुम्बु, ३ पुस– सोलुखुम्बुको सदरमुकाम आसपास तथा माथिल्लो क्षेत्रमा बुधबार विहानैदेखि हिउँ परेको छ ।
सोलुको नाम्चे, खुम्जुङ तथा चौरींखर्कका अधिकांश भू–भागमा हिँउ परेको छ । यस्तै सदरमुकाम सल्लेरी, बेनी, गोली, टाक्सिन्दु, जुभिङ, बुङ, वाकु, गोराखानी, केरुङ, टाप्टिङलगायतका गाविसका विभिन्न क्षेत्रमा पनि हिउँ परिरहेको छ ।
हिउँले गाउँघर सेताम्मे भएका छन् भने जनजीवन समेत प्रभावित बनेका छन् ।
चिसाको कारण मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् । हिउँ परेपछि विद्यालयमा पठन पाठन हुन सकेको छैन । विद्यालयमा एक साता पछि मात्रै पढाइ सुरु हुने चौंरीखर्कका शिक्षक नातेम्बा शेर्पाले बताए ।
उनले जाडोले दुईरचार दिन अझै पढाइ हुन नसक्ने जानकारी दिए । सदरमुकाम सुनसान बनेका कारण सरकारी कार्यालयमा पनि चहलपहल छैन ।
धेरैजसो कर्मचारी जाडोबाट बच्न आगो तथा हिटर तापेर बसेका छन् । मंगलबारसम्म यहाँको मौसम सामान्य देखिएको भएपनि बुधबार विहान जिल्लाभर हुस्सु लागेर केही वर्षा भएको थियो ।
बुधबार विहान ६ बजे सदरमुकामको तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको थियो । सदरमुकामका सबैजसो धारामा विहान पानी जमेका कारण करिब ८ बजेसम्म धारामा पानी नआउँदा खानेपानीको समेत समस्या भएको थियो ।
अत्याधिक चिसोका कारण मानिसलाई समस्या परेको छ भने गाईवस्तुलाई पनि उत्तिकै समस्या भएको छ ।
खुम्बु क्षेत्रमै रहेर क्रिसमस मनाउन बसेका विदेशी पर्यटक हिउँ खेलेर रमाइलो गरिरहेका खुम्जुङबाट पर्यटन व्यवसायी टासी शेर्पाले बताए ।
सदरमुकामका केही कर्मचारी तथा युवायुवती पनि हिउँमा खेल्न नजिकका डाँडा रातनाङ्गे, मूलखर्क र पत्ताले पुगेका छन् ।
रासस