
काठमाण्डु, २ पुस– उच्चस्तरीय वित्तीय व्यवस्थापन समितिले वित्तीय क्षेत्र विकास रणनीति तयारीका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालाको अध्यक्षतामा मंगलबार अर्थ मन्त्रालयमा भएको समितिको बैठकले रणनीतिको मस्यौदा तयार गर्न कार्यदललाई चैत मसान्तसम्मको अवधि तोकेको छ ।
त्यस अवसरमा मन्त्री कोइरालाले नयाँ बन्ने रणनीति वित्तीय संस्था, पुँजी बजार र बिमा व्यवस्थापनका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै त्यसले मुलुकमा वित्तीय सन्तुलन कायम गर्न सघाउ पुग्ने बताए ।
आगामी आर्थिक वर्षको बजेट तयार गर्न रणनीतिबाट ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले चालु आवको बजेट वक्तव्यमा तोकिएका काम तदारुकताकासाथ अघि बढाउन सरोकारवालालाई निर्देशन दिए ।
बैठकमा सदस्य राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्य, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार डा चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले, नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक डा. विश्वम्भर प्याकुरेललगायत वित्तीय क्षेत्रका पदाधिकारी सहभागी थिए ।