
कञ्चनपुर, २ पुस– निरक्षरता उन्मूलन गर्न कञ्चनपुरमा सञ्चालन भइरहेको साक्षरता कक्षा मार्फत ३२ हजार ५ सय ४ जनालाई साक्षर बनाइने भएको छ ।
अनौपचारिक शिक्षा तथा नेपाल साक्षरता अभियान कार्यक्रमअनुसार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका १९ गाविस र भीमदत्त नगरपालिकाका १९ वटै वडामा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरता उन्मूलन गर्न लागेको हो ।
जिल्लामा ४९ हजार महिला र २१ हजार पुरुष निरक्षर रहेकोमा गत वर्ष ३८ हजार लाई साक्षरता कक्षामार्फत साक्षर गराइएको थियो ।
यो वर्ष ३२ हजारलाई साक्षरता कक्षामार्फत साक्षर गराउने लक्ष्य लिइएको जिल्ला शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले बताए ।
साक्षरता कक्षाका लागि २ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।
गत वर्ष जिल्ला शिक्षा कार्यालयले छ गाविस र नगरपालिकाका सात वटा वडामा साक्षरता कक्षा सञ्चालन गरेको थियो ।