
काठमाण्डु, १ पुस– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधार विकासको क्षेत्रमा लगानी बढाउन फ्रान्स सरकारसँग आग्रह गरेका छन् ।
नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरोसँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले द्विपक्षीय तथा आर्थिक सम्बन्ध सुदृढ गर्न पारस्परिक सहकार्य आवश्यक भएको बताए ।
भूकम्प प्रविधिका क्षेत्रमा तीन दशकदेखि फ्रान्स सरकारले पुर्याउँदै आएको योगदानको सराहना गर्दै उनले त्यसलाई निरन्तरता दिन र सगरमाथा आधार शिविरमा पर्वतारोहणसम्बन्धी विद्यालय स्थापनामा सहयोग गर्न आग्रह गरे ।
त्यस अवसरमा राजदूत बासेरोले फ्रान्स सरकारले सहरी विकास, सडक बत्ती, सौर्य ऊर्जा र यातायातको क्षेत्रमा नेपालमा लगानी विस्तार इच्छुक रहेको जानकारी दिएको अर्थ मन्त्रीका सञ्चार संयोजक सङ्केत कोइरालाले बताए ।
फ्रान्सेली लगानीकर्ताको एक टोली आगामी दुई महिनाभित्रमा नेपाल आउने भएकाले टोलीलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले काठमाडौँमा केवलकार निर्माण गर्न आफ्नो सरकारले छिट्टै अध्ययन थाल्ने बताए ।